होली खेल्दा के कुरामा ध्यान दिने ?

हेल्थ टिभी अनलाइन : होली रंग, खुसी र एकताको पर्व हो । नेपालमा वसन्त उत्सवको रूपमा फागु पर्व अर्थात् होली पर्व मनाउने परम्परा छ। एक आपसमा विभिन्न खालका रंग दल्ने र एक आपसमा सदभाव र माया साटासाट गर्दै मनाइन्छ यो पर्व । रंगीन उल्लासका साथ होली मनाउँदा हाम्रो छालाको पनि उचित हेरचाह गरौं ताकि स्वस्थ र उज्यालो रहोस्।
होलीको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व आफ्नै ठाउँमा छ । तर जथाभावी र ख्याल नगरेर होली खेल्दा यसले स्वास्थ्यमा हानी पनि गर्न सक्छ । होलीमा सबैभन्दा बढी असर छालामा पर्छ । पहिलेपहिले मानिसहरू प्राकृतिक रंग प्रयोग गरेर होली खेल्थे। गुलाबपत्र, सयपत्री, बेसार, दुवो र मेहन्दी आदिबाट रंग तयार हुन्थ्यो। अर्को कुरा एकआपसमा छ्यापिने पानी पनि सफा हुन्थ्यो।
तर अहिले अवस्था त्यस्तो छैन। विभिन्न रसायन मिसाएर बनाएको रंग होली खेल्न प्रयोग हुन्छ। अझ कतिपयले त इनामेललगायत कडा किसिमका रंगले समेत अनुहार र शरीर रंगाएका हुन्छन्। पानी पनि सफा पाउनै मुश्किल छ । हाम्रो अनुहारको छाला निकै संवेदनशील हुन्छ। त्यसैले होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको रसायनहरु मिलाइएको हुन्छ। जसले शरीरको छाला तथा अनुहारमा समस्या निम्त्याउन सक्छ ।
बजारमा पाइने रसायनयुक्त रंगले छालामा नराम्रो असर गर्छ । जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनुका साथै यस्ता रंगले छालालाई सुक्खा र रुखो बनाइदिन्छ । तर होली खेल्नु अघि केही उपायहरु अपनाएर छालालाई बढी हानि हुनबाट बचाउन भने सकिन्छ । त्यसका लागि पहिले नै तयारी गर्नुपर्छ ।
होली खेल्दा सकेसम्म प्राकृतिक रंगको प्रयोग गर्नुपर्छ । प्राकृतिक रंगले छालालाई नोक्सान गर्दैन । छालाको रोग भएका र छाला बढी सेन्सेटिभ भएकाले होली खेल्दा अझ विशेष ध्यान पुर्याउनुपर्छ । छालालाई रंगको प्रभावबाट बचाउन होली खेल्नुअघि सनस्किन, तेल तथा मोस्चराइजर लगाउनु पर्छ । यसो गर्नाले छालामा रासायनिक प्रभाव कम हुने हुन्छ । होली खेलिसकेपछि रंग निकाल्ने वेलामा पनि ध्यान पुर्याउनुपर्छ।
होली खेल्दा यी कुरामा ध्यान दिऔं :
– छाला र कपालमा नरिवल वा जैतुन तेल राम्ररी लगाएर रंग टाँसिन नदिने ।
– घामको असरबाट जोगिन राम्रो सनस्क्रिन प्रयोग गर्ने ।
– छाला धेरै नखुल्ने गरी पूरै बाहुला भएका लुगा लगाउने ।
– बढी चम्किलो रंग नलगाउने, सकेसम्म प्राकृतिक रंग लगाउने ।
– छालालाई ताजा राख्न प्रशस्त पानी पिउने ।
– कुनै एलर्जी वा जलन भएमा सौम्य मोइस्चराइजर लगाउने ।
– होली खेल्दा निश्चित समय छु्ट्याएर खेल्ने, दिनभर नखेल्ने ।
– होलीको रङ पखाल्दा नरम साबुन तथा स्याम्पु प्रयोग गर्ने ।
– होली खेलिसकेपछि छाला बढी पोल्ने, चिलाउने वा सुन्निने भएमा चिकित्सककोमा जाने ।
(डा कर्ण वरिष्ठ छाला रोग विशेषज्ञ हुन् ।)
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै