एन्टिबायोटिकले कामै नगर्ने अवस्था किन आउँदैछ ?

हुनत एन्टिबायोटिक बिरामीका लागि जीवन बचाउने औषधि हो । धेरै यस्ता रोगहरु (संक्रमण छन्) जुन रोगहरू एन्टिबायोटिकको प्रयोग बिना निको हुन सक्दैनन् । यो बिना बिरामीको मृत्यु हुन्छ । सन् १९२८ मा पहिलोपटक पेनिसिलिन भन्ने एन्टिबायोटिक पत्ता लागेपछि संक्रमणको उपचारमा ठूलो परिवर्तन आएको थियो । त्यसबेला एन्टिबायोटिक बिना सामान्य घाउचोटमा पनि बिरामीले संक्रमण भएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो । तर एन्टिबायोटिक पत्ता लागेपछि भने विस्तारै यस्ता संक्रमणबाट बिरामीको मृत्यु हुने क्रम रोकियो ।
तर यही जीवन बचाउने एन्टिबायोटिकको दुरुपयोगका कारण अहिले आएर औषधि भन्दा संक्रमण गराउने ब्याक्टेरिया बलिया हुन थालेपछि सबैतिर चिन्ता र चासो बढेको छ । धेरै विज्ञहरुले यही अवस्थामा दुरुपयोग बढिरहे कुनै दिन अहिले भएका कुनै पनि एन्टिबायोटिकले कामै नगर्ने अवस्था पनि आउनसक्ने आँकलन गरिरहेका छन्। यस्तो अवस्था किन आयो त ? यहाँ बुझ्न जरुरी छ ।
‘नेपालमा अहिले एन्टिबायोटिकको पनि कडा खालको एन्टिबायोटिक चलाउन पर्ने अवस्था आइसकेको छ । विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिकलाई तीन तहमा वर्गीकरण गरेको छ । एक्सेस, वाच र रिजर्भ । यो भनेको पहिलो चरणमा एक्सेस अन्तर्गत पर्ने एन्टिबायोटिक चलाउने त्यसले काम गरेन भने मात्र वाच समूहको चलाउने र अन्तिममा कुनैले पनि काम गरेन भने मात्र रिजर्भ समूहबाट चलाउने भन्ने छ । रिजर्भको औषधि भनेको अन्तिम औषधि हो । त्यसपछि बिरामीका लागि कुनै पनि औषधि नै हुँदैन ।’
पाटन अस्पतालका संक्रामक रोग विशेषज्ञ प्राडा जनक कोइरालाका अनुसार एन्टिबायोटिक औषधि ब्याक्टेरिया जन्य संक्रमण नियन्त्रण गर्न र त्यसलाई निको पार्नका लागि प्रयोग गरिन्छ। तर बिरामीले भाइरल ज्वरोमा समेत एन्टिबायोटिक प्रयोग गर्न थालेपछि कुनै समय ब्याक्टेरियाको संक्रमणका कारण हुने समयमा सो पहिले नै खाइएको एन्टिबायोटिकले काम गर्न छोडेको छ । उनले भने, ‘खासमा एन्टीबायोटिक भनेको आफै फार्मेसी पसलमा गएर किनेर खाने औषधि नै होइन यो त चिकित्सकको सल्लाह बमोजिम कुन प्रकारको एन्टीबायोटिकले काम गर्छ, कस्तो संक्रमण हो ? जाँच गरेर मात्र खानपर्ने हो, सो संक्रमण ब्याक्टेरियाको हो होइन भन्ने कुरा परीक्षण पश्चात मात्र थाहा हुन्छ । तर हामीकहाँ एन्टीबायोटिक आफूखुशी खाने चलन बढी छ । फार्मेसी पसलले पनि सजिलै एन्टिबायोटिक बिक्री गरेको पाइन्छ । जबकी नेपालमा यसरी बेच्न नपाइने कानून छ ।’ उनले थपे ।
डा कोइराला थप्छन, ‘यही एन्टिबायोटिकको दुरुपयोगले ब्याक्टेरिया एन्टिबायोटिकभन्दा बलिया बन्दै गएका छन् । यो समस्या नेपालमा मात्र होइन अहिले विश्वकै समस्याको रुपमा देखा पर्न थालेको छ । जब एन्टिबायोटिकको दुरुपयोग हुन्छ तब ब्याक्टेरिया अौषधिभन्दा बलिया भएर बस्छन्। त्यही औषधि जसले पहिले काम गर्दथ्यो अब सोही उपचारमा दिंदा त्यसले काम गर्नै छोड्छ र बिरामीलाई अझ कडा एन्टीबायोटिक दिनुपर्ने हुन्छ । यदि सो एन्टिबायोटिक पनि बिरामीले जानेर नजानेर पहिले नै अनावश्यक रुपमा खाएको भए सो पनि काम नगर्ने हुनसक्छ । यसरी एन्टिबायोटिकले कामै नगर्ने अवस्थालाई ‘एन्टीमाइक्रोबियल रेसिस्टेन्स’ भनिन्छ ।
खासका एन्टिबायोटिक आफूखुशी खाने र अलिअलि ठीक हुँदैमा एक दिन दुइ दिन खाएर छोड्न मिल्ने औषधि होइन । एकपटक खाएपछि यसको कोर्ष पूरा गर्नैपर्छ बीचमा छोडन मिल्दैन । औषधिको मात्रा पूरा नगरी बिचमै छोड्नु निकै घातक हुन्छ । यसरी आवश्यकभन्दा कम वा बढी मात्रामा एन्टिबायोटिक सेवन गर्दा वा यसको डोज पूरा नगर्दा वा नचाहिने अवस्थामा एन्टिबायोटिकको प्रयोग गरेमा ब्याक्टेरियाको औषधि प्रतिरोधी क्षमता बढेर विस्तारै औषधिले कामै नगर्नेसम्म हुन जान्छ । यसलाई नै ‘एन्टीमाइक्रोबियल रेरिसस्टेन्स’ अर्थात प्रतिजैविक प्रतिरोध भनिएको हो । यसमा ब्याक्टेरियाले पहिले नै सो औषधि लिइसक्यो भने अब उसले अर्कोपटक त्यस्तै औषधिसँग लड्न शक्ति बनाएर बसेको हुन्छ । जसले गर्दा बिरामीमा एन्टिबायोटिकले काम गर्न छोड्छ, यसको परिणाममा रोगको उपचारमा धेरै समय लाग्ने, जटिलता बढ्ने र ज्यानै बचाउन मुश्किल हुन थालेको छ । जुन गम्भीर अवस्था हो । यसबारे बेलैमा सोच्ने र काम गर्ने बेला आइसकेको बताउँछन, डा कोइराला ।
एन्टिबायोटिकको सर्भिलेन्समा काम गरिरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी मेडिकल टेक्नोलोजिस्ट डा लिली श्रेष्ठ भन्छिन्, ‘नेपालमा अहिले एन्टिबायोटिकको पनि कडा खालको एन्टिबायोटिक चलाउन पर्ने अवस्था आइसकेको छ । विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिकलाई तीन तहमा वर्गीकरण गरेको छ । एक्सेस, वाच र रिजर्भ । यो भनेको पहिलो चरणमा एक्सेस अन्तर्गत पर्ने एन्टिबायोटिक चलाउने त्यसले काम गरेन भने मात्र वाच समूहको चलाउने र अन्तिममा कुनैले पनि काम गरेन भने मात्र रिजर्भ समूहबाट चलाउने भन्ने छ । रिजर्भको औषधि भनेको अन्तिम औषधि हो । त्यसपछि बिरामीका लागि कुनै पनि औषधि नै हुँदैन ।’
उनले भनिन, ‘हामीले सात प्रदेशका २६ वटा अस्पतालका ल्याबसँग नजिकबाट एन्टिबायोटिक रेसिस्टेन्स सर्भिलेन्समा काम गरिरहेका छौं । कुन एन्टिबायोटिकले कुन रोगमा कसरी काम गरिरहेको छ भनेर हेरिरहेका छौं । सो नतिजा हेर्दा अवस्था डरलाग्दो छ । अहिले नेपालमा पहिलो समूहका अधिकांस औषधिले प्रतिरोध बनाइसकेको देखिन्छ । अर्थात तिनीहरुले कामै गर्न छोडेका छन् । त्यसैले वाच समूहको एन्टिबायोटिकबाट धेरै सिफारिस भएको पाइन्छ । अझ डरलाग्दो कुरा त वाचमा पनि विस्तारै प्रतिरोध देखिन थलोको छ यो निकै डरलाग्दो अवस्था हो । डा लिली भन्छिन, एउटा एन्टीबायोटिक बनाउन वर्षौ लाग्छ तर त्यही औषधिले काम गरेन भने के गर्ने ? यो रातारात बन्ने औषधि पनि हैन । त्यसैले यसलाई जोगाउने जिम्मा हाम्रै हो । नत्र भोलिको पुस्तामा निकै अप्ठेरो पर्न सक्छ ।’
नेपाल मेडिकल काउन्सिलका रजिष्टार तथा वरिष्ठ क्लिनिकल फर्माकोलोजिस्ट डा सतिश कुमार देव भन्छन्, एन्टीमाइक्रोबियल रेसिस्टेन्स स्लो मोसनमा आएको सुनामी हो, यसले सबैलाई प्रभावित गर्नेवाला छ । त्यसका लागि अहिले नै काम नगरे भोलि पछुताउनुबाहेक अर्को विकल्प हुँदैन । यसैगरी एन्टीबायोटिक रेसिस्टेन्ट बढ्दै जाने हो भने केही वर्षमा एन्टीबायोटिककै कारण मानिसको मृत्यु हुन सक्ने अवस्था आउन सक्छ । सन् २०५० सम्ममा अहिले भएका कुनै पनि एन्टिबायोटिककले काम गर्दैनन भन्ने आँकलन गर्न थालिएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाका अनुसार अहिले एन्टिबायोटिक मानव स्वास्थ्यमा मात्र नभएर कृषि क्षेत्रमा अत्यधिक उत्पादनका लागि प्रयोग हुने, पोल्ट्री फर्म लगायत विभिन्न पशुपक्षीको उपचार र वृद्धिका लागि पनि एन्टिबायोटिक दिइन्छ । जुन प्रत्यक्ष रुपमा मानव स्वास्थ्यसँग जोडिन्छ । यो भनेको कुनै बेला बिरामी भएर खाने औषधि पहिले नै खाएको हो । अब पहिले नै सो औषधि खाद्यान्नबाट वा मासुजन्य वस्तुबाट हाम्रो शरीरमा पसिसकेको हुन्छ । त्यसैले सो खालको औषधिले शरीरमा अब कामै गर्दैनन। त्यसैले यो सबै मिलेर समाधान गर्नपर्ने समस्या हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको एक अध्ययन अनुसार नेपालमा २८ प्रतिशत बिरामीले अहिले पनि ‘ओभर द काउन्टर’ औषधि पसलमा एन्टिबायोटिक प्रेस्क्रीप्सन बिना नै किनेर खाने गरेका छन् । यसैगरी २२ प्रतिशत बिरामीले आफूले खाइरहेको एन्टिबायोटिकको डोज नै पूरा गर्दैनन् । सबैभन्दा डरलाग्दो कुरा नै यही हो । यसैगरी सो अध्ययन अनुसार नेपालमा ७० प्रतिशतले विश्व कडा खालको एन्टिबायोटिकको प्रयोग गर्छन ।
एन्टिबायोटिकले कुन बेला काम गर्न छोड्छ त ?
-सामान्य ज्वरो, टाउको दुखाइमा पनि एन्टिबायोटिकको प्रयोग
-एन्टिबायोटिकको आफूखुशी प्रयोग
-चिकित्सकको सल्लाह बिना एन्टिबायोटिकको सेवन
-एन्टिबायोटिकको डोज पूरा नगर्नु
-जाँच नगरी एन्टिबायोटिक सेवन गर्नु
-कृषि र पशुपालनमा अत्यधिक एन्टिबायोटिकको प्रयोग
-खाद्यान्नमा एन्टिबायोटिकको प्रयोग
-वातावरणीय कारण
-अस्पतालमा हुने संक्रमण
-सरसरफाईमा कमी
बच्न के गर्ने ?
-एन्टिबायोटिकको प्रयोग आफूखुशी नगर्ने
-चिकित्सकको सल्लाह लिएर मात्र एन्टिबायोटिकको प्रयोग गर्ने
-एन्टिबायोटिक खानुभन्दा अघि जाँच गर्ने
-खाद्यान्न तथा कृषिमा एन्टिबायोटिकको प्रयोग नगर्ने
-अस्पतालजन्य संक्रमणबाट टाढा रहने
-सरसफाईमा ध्यान दिने
एन्टिबायोटिकको सही प्रयोग सही रोगमा गरिएन भने र यसको आवश्यकता भन्दा बढी प्रयोगले कुनै बेला चाहिएको बेला काम नगर्ने अवस्था सिर्जना हुनसक्छ । सो कुरालाई मध्यनजर गर्दै एन्टिबायोटिकले काम नगर्ने स्थिति नियन्त्रण गर्न हामी सबैको भूमिका उत्तिकै जरुरी छ। हामी सबै आ आफना् स्तरबाट जिम्मेवार हुँदै ज्यान जोगाउने एन्टिबायोटिकलाई जोगाउनतर्फ लागौं ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै