परिवारमा कसैलाई क्यान्सर छ ? अनिवार्य लिनुस् ‘जेनेटिक काउन्सिलिङ’
'सम्भावित क्यान्सरको जोखिमबाट जोगिन जेनेटिक काउन्सिलिङ'

क्यान्सर हुने कारणहरुमध्ये वंशाणुगत कारण पनि एक हो । त्यसो त लगभग ९० प्रतिशत क्यान्सर हाम्रो जीवनशैली, खानपान, रहनसहन, वातावरण, प्रदूषण लगायतले हुने गर्छ भने अनुमानित १० प्रतिशत जति क्यान्सर वंशाणुगत हुने गर्छ । वंशाणुगत अर्थात परिवारबाट आउनु । यदि परिवारमा कसैलाई क्यान्सर छ भने उक्त क्यान्सर परिवारका अन्य सदस्यमा पनि हुने सम्भावना हुन्छ भने त्यसलाई वंशाणुगत क्यान्सर भनिन्छ । केही क्यान्सर र त्यसको अवस्था हेरेर परिवारमा अन्य सदस्यलाई क्यान्सर हुने सम्भावना कति छ भनेर आँकलन गर्न सकिन्छ । त्यसैले त्यस्ता व्यक्तिलाई जेनेटिक काउन्सिलिङ जरुरी हुन्छ । के हो जेनेटिक काउन्सिलिङ ? किन यसको आवश्यक छ भन्ने विषयमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरकी मेडिकल अंकोलोजिस्ट डा सुष्टि तिवारीसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :
के हो जेनेटिक काउन्सिलिङ ?
हाम्रो शरीरमा क्यान्सर विभिन्न कारणले हुने गर्छ तर क्यान्सर हुने कारणहरुमध्ये वंशाणुगत कारण पनि एक हो । अर्थात पारिवारिक रुपमा सन्तानमा क्यान्सर आउनु । लगभग ९० प्रतिशत क्यान्सर हाम्रो जीवनशैली, खानपान, रहनसहन, वातावरण, प्रदूषण लगायतले हुने गर्छ भने अनुमानित १० प्रतिशत जति क्यान्सर वंशाणुगत हुने गर्छ । हो यही वंशाणुगत क्यान्सरमा हामीलाई जेनेटिक काउन्सिलिङको आवश्यकता पर्छ । जेनेटिक काउन्सिलङ भनेको वंशाणुगत क्यान्सर भएका बिरामी र उनका आफन्तलाई कसरी भविष्यमा आउन सक्ने वा हुनसक्ने क्यान्सरको जोखिमबाट बच्ने भनेर राय दिने हो । जुन विशेषज्ञले दिने गर्छन । हामीले हाम्रो नेपाल क्यान्सर अस्पतालमा बिरामीहरुलाई नि: शुल्क रुपमा जेनेटिक काउन्सिलिङ गरिरहेका छौं ।
कुन कुन क्यान्सर वंशाणुगत हुन्छन् ?
यदि कसैलाई ३५ वर्षमै स्तन क्यान्सर देखिएमा त्यो वंशाणुगत क्यान्सर हुनसक्छ । यस किसिमका व्यक्तिले वंशाणुगत परीक्षण गराउनैपर्छ । यसैगरी पुरुषमा हुने स्तन क्यान्सर पनि जेनेटिक रुपमा ट्रान्सफर हुनेमा पर्छ । अण्डाशयको क्यान्सर, फेलोपिन ट्युबको क्यान्सर, प्यान्क्रियाजको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर वंशाणुगत क्यान्सरमा पर्छन । त्यसैगरी परिवारमा एकभन्दा बढी सदस्यलाई क्यान्सर देखिएमा, परिवारको एकै व्यक्तिको २ वटा अंगमा क्यान्सर भएमा, एकै व्यक्तिलाई २ भन्दा बढी प्रकारका क्यान्सर भएमा पनि वंशाणुगत कारण हुनसक्छ । यी बिरामीको परिवारले वंशाणुगत क्यान्सरको काउन्सिलिङ लिएर नियमित परीक्षण गराउनु पर्छ । वंशाणुगत क्यान्सर भएका परिवारले उचित परामर्श नपाउँदा क्यान्सर फैलिसकेको अवस्थामा आउने गर्छन । जबकी उनीहरुलाई सुरुमै जानकारी दिन सक्ने हो भने नियमित परीक्षणबाट सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गर्न सकिन्छ ।
त्यसैले हामीले बिरामीहरुको अवस्थालाई मध्यनजर गर्दै जेनेटिक काउन्सिलिङ सेवा शुरु गरेका हौं । सुरुमा बिरामीको सबै जानकारी लिएर वंशाणुगत हो वा होइन भन्ने पत्ता लगाउँछौं र सोही अनुसार उपचार र रोकथामका उपायहरु अवलम्बन गर्न सल्लाह दिने गछौं । काउन्सिलिङ कै आधारमा उक्त व्यक्तिलाई परीक्षण आवश्यक छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । संभावित क्यान्सरको जोखिम हटाउनका लागि जेनेटिक काउन्सिलिङको असाध्यै ठूलो महत्व छ ।
जोखिमलाई कसरी कम गर्ने ?
यदि वंशाणुगत क्यान्सर हो भने आमाबाबुबाट छोराछोरीमा क्यान्सर हुनसक्ने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले यस्ता परिवारका सदस्यले जोखिमबाट जोगिन र बेलैमा रोग लागे नलागेको पत्ता लगाउन नियमित स्क्रिनिङ गर्नुपर्छ । यसरी स्क्रिनिङ गर्दा सुरुकै अवस्थामा क्यान्सर भएको थाहा पाएमा पूर्ण रुपमा रोग निको पार्न सकिन्छ । परीक्षणका क्रममा परिवारका थप सदस्यमा क्यान्सर देखिएमा त्यसको जोखिम परिवारका अन्य सदस्यहरुमा अझ बढी हुन जान्छ । सो बारे पनि चनाखो हुनुपर्छ । यदि कुनै पनि व्यक्तिमा वंशाणुगत कारणले क्यान्सर भएको थाहा पाउन सकिएको अवस्थामा परिवारका अन्य सदस्यलाई क्यान्सर हुने जोखिमलाई कम गर्न सकिन्छ । स्क्रिनिङ ,विभिन्न थेरापी तथा विभिन्न प्रकारका उपचारका माध्यमबाट क्यान्सरको जोखिमलाई कम गर्न सकिन्छ ।
जेनेटिक काउन्सिलिङले व्यक्ति र परिवारमा क्यान्सरको जोखिम कम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने गर्छ । जेनेटिक काउन्सिलिङ गर्दा उच्च जोखिममा रहेका व्यक्तिहरुमा विभिन्न प्रकारको परीक्षण गरी रोग भए नभएको पत्ता लगाउन सकिन्छ ।यदि परिवारमा क्यान्सर छ भने कतै मलाई पनि हुन्छ की भनेर ‘जेनेटिक काउन्सिलिङ अनिवार्य रूपमा लिनुपर्छ। आवश्यक परेमा चिकित्सकको सल्लाहमा जाँच पनि गराउनुपर्छ। यसबाट सम्भावित समस्याबाट बच्न सकिन्छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै