‘परिवारलाई कोरोनाबाट जोगाउन दुई महिनादेखि एकान्तवासमा छु’

अस्मिता ढकाल
यतिबेला लकडाउनका कारण सबै जना घर परिवारसँग होलान् तर म भने पेशागत बाध्यताका कारण परिवारबाट अलग भएर बसेको पनि झण्डै साढे २ महिना भइसक्यो । बिरामीको सेवा गर्छु भनेर नर्सिङ पेशामा लागेकी मलाई यी र यस्ता समस्या आउँछन भनेर पहिले नै थाहा भए पनि म आफनो पेशा र बिरामीको सम्मानका लागि सधैं तयार छु र रहनेछु । तर पनि म पनि सामान्य मानिस नै हुँ । त्यसैले कहिलेकाहीं परिवाबाट अलग भएर एक्लै बस्दा मनमा अनेक कुरा खेल्ने रहेछन्।
कोरोना महमारी शुरु हुनु भन्दा अघि नै मैले आफना दुई छोरालाई माइतीमा लगेर राखें । किनकी म अस्पताल जाने आउने गर्दा मेरा साना बच्चामा संक्रमण मबाटै सर्नसक्ने जोखिम धेरै थियो । त्यसैले उनीहरुलाई संक्रमण अझ म बाट जोगाउन मैले नै आफूबाट टाढा गराउन बाध्य भएँ। यति मात्र हैन बुढा भएका सासु ससुरालाई पनि मैले संक्रमण सार्न सक्छु भनेर म उहाँहरुसँग पनि बस्न सकेकी छैन्। श्रीमानलाई उहाँहरुको ख्याल गर्न भनेर आफू भने एकान्तवासमा छु । एक्लै नितान्त एक्लै । घरमा यता पनि कोही छैन् उता पनि कोही छैन्। उराठ लाग्दो ।
धेरै देशहरुमा स्वास्थ्यकर्मी नै संक्रमित भएर उनीहरुबाट परिवारमा संक्रमण फैलिएको कुरा धेरै मिडियामा आएका छन्। म यसप्रति सजग छु । स्वभाविक रुपमा हामी स्वास्थ्यकर्मी संक्रमणको बढी जोखिममा हुन्छौं । हामीबाट परिवारमा सर्ने सम्भावना बढी हुन्छ । त्यसैले म लगायत धेरै स्वास्थ्यकर्मी सेल्फ आइसोलेसनमा बसेका छन् ।
शिक्षण अस्पतालमा सुत्केरी महिलालाई कोरोना देखिएपछि त झनै अस्पतालका स्टाफहरुमा पनि मानसिक तनाव थपिएको छ । बर्थिङ सेन्टरमा रहेकी उनको सम्पर्कमा आएका हामी सबै क्वारेन्टाइनमा बस्यौं । अहिले भने ड्युटी अल्टरनेट गर्दै गरिरहेका छौं । अहिले अस्पताल र घर मेरो दैनिकी हो । अस्पतालमा काम गर्ने नर्स हो भनेपछि धेरैले कुरा गर्न पनि खोज्दैनन्। सायद कुरा गर्दा पनि रोग सर्छ भन्ने भ्रम भएर होला ।
यतिबेला प्रकृति रमाएको छ भने मानव तनावमा छन्। यही तनावकाबिच पनि हामी भने दिनरात नभनी सेवामा छौं । एकान्तवासको समय कहिलेसम्म हो थाहा छैन्। मेरा ती अवोध बच्चालाई अंगालो हाली माया गर्न मन छ । तर म बाध्य छु अहिल एक्लै बस्न । फोनमा कुरा गर्छु । सँगै बसे जस्तो त कहाँ हुन्छ र? मलाई आशा छ म जस्तै धेरै स्वास्थ्यकर्मी अहिले संक्रमण परिवारमा सर्ने डरले एक्लै बसेका छन्। म लगायत उनीहरुको यो एकान्तवास छिटै समाप्त होस र परिवारसँग निर्धक्कले बस्न पाइयोस भन्ने चाहना छ ।
ढकाल त्रिवि शिक्षण अस्पतालकी स्टाफ नर्स हुन्।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै