Health TV Online
Health TV Online

‘क्यान्सर भएको थाहा पाएपछि बाँच्ने रहर झनै बढेको छ, तर उपचार गर्न पैसा छैन’

‘क्यान्सर भएको थाहा पाएपछि बाँच्ने रहर झनै बढेको छ, तर उपचार गर्न पैसा छैन’

काठमाडौं/कल्पना आचार्य

नेपालगञ्ज खजुराकी २४ वर्षीया दिना परियार अहिले क्यान्सरसँग लडिरहेकी छिन्। सामान्य परिवारकी दिनासँग न त उपचारका लागि पैसा छ न त बेच्नका लागि जग्गा जमिन नै।

खजुरामा आमाबाबु, भाइबहिनीसँगै बस्ने दिना लुगा सिलाएर जीविकोपार्जन गर्दै आएकी थिइन्। बिरामी परेपछि काम गर्न नसक्दा आम्दानी पनि रोकिएको छ। चार महिनाअघि एक्कासी ढाड दुख्ने, सास फेर्न गाह्रो हुने र लगातार खोकी लागिरहने भएपछि उनी जाँच गराउन नेपालगञ्जस्थित नर्सिङ होममा पुगिन्। उनको उपचार र त शुरु भयो तर रोग पत्ता लागेन। डाक्टरले ढाडमा जमेको भनेर पानी पनि निकाले। यो क्रम लगभग दुई महिनासम्म चल्यो। तर रोग जस्ताको त्यस्तै ।

केही गरे पनि निको नभएपछि उनी बुबासँगै काठमाडौं आइन्। काठमाडौको वीर अस्पतालमा १० दिन भर्ना गरेर उपचार गरियो। अन्त्यमा पत्ता लाग्यो, उनलाई क्यान्सर भएको रहेछ।

वीरले महाराजगञ्जस्थित मनमोहन भास्कुलरमा पठायो। उनी त्यहाँ पनि २५ दिन बसिन्। फोक्सोसँगै रहेको ग्ल्याण्डमा क्यान्सर रहेको भनियाे। मनमोहनले सँगैको शिक्षण अस्पतालमा पठायो,उपचारका लागि। हाल उनी शिक्षण अस्पताल महाराजगञ्जमा क्यान्सरको उपचार गराइरहेकी छिन्। मेडिकल भाषामा उनलाई असाध्यै कम ब्यक्तिलाई हुने ‘टी लिम्फोब्लाष्टिक लिम्फोमा’ भन्ने क्यान्सर भएको छ । चिकित्सकका अनुसार याे क्यान्सर ३५ वर्ष मूनिका ब्यत्तिलाई बढी हुने गर्छ ।

दिना आफ्नो रोगको भन्दा पनि आमाबाबुको आर्थिक अवस्था सम्झेर र उनीहरूको भागदौड देखेर वेलावेला भक्कानिन्छन्। आफूलाई निको नहुने भए उपचार नगर्न डाक्टरलाई भनेको उनी बताउँछिन्। ‘मलाई निको हुँदैन भने अलिअलि भएको पैसा र ऋण गरेर उपचार गर्न चाहँन्न’, उनी भन्छिन्, ‘पैसा नहुनेलाई यो रोग लाग्यो भने त मर्नुको विकल्प नै रहेनछ।’

आफन्त र मनकारीहरूले थोरबहुत सहयोग गरिरहेकै छन्। तर कति र कहिलेसम्म? उनले हालसम्म पाँच लाखजति खर्च भइसकेको बताइन्। ‘यहाँ एक रातकै १५ सय रुम चार्ज तिर्नुपर्छ’, उनले भनिन्’, ‘औषधिको छुट्टै। खर्च त कति हो कति!’

दिनाको उपचारमा सलंग्न चिकित्सक डा अन्जन श्रेष्ठ उनको क्यान्सरको उपचार लामो समयसम्म गर्नुपर्ने बताउँछन्। उनले ‘किमो’ दिन शुरु गरिसकेका छन्। ‘यो अलि अप्ठेरो खालको क्यान्सर हो’, उनले भने, ‘शल्यक्रिया गर्न मिल्दैन । किमो नै दिने हो।’ किमोको असर तीन महिना नपुगी नदेखिने उनी बताउँछन्। अहिले नै निको हुन्छ कि हुँदैन भन्ने थाहा नहुने उनको भनाइ छ।

डा. अन्जनका अनुसार पूर्ण उपचार गराए यस्ता बिरामीको उपचार ८० प्रतिशतसम्म सफल हुन्छ। यसका लागि २ देखि ३ वर्षसम्म नियमित डाक्टरको सम्पर्कमा रहनुपर्ने र ‘फलो अप’मा बस्नुपर्ने उनको भनाइ छ।

उनको उपचारमा कम्तीमा ८ देखि १० लाख लाग्ने डाक्टरको अनुमान छ। निको हुन पाए लुगा सिलाएर बाबुआमा पाल्ने थिएँ भन्ने लाग्छ, दिनालाई। ‘अहिलेसम्म अरुकै सहयोगमा बाँचिरहेकी छु’, आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘अझै पनि सहयोग पाएँ भने बाँच्छु, नत्र मृत्यु पर्खिनुको विकल्प छैन।’ उनले  रुँदै भनिन्, ‘कृपया मलाई सहयोग गर्नुस्, म लुगा सिलाएर ऋण तिर्ने कोशिस गर्नेछु।

दिनाको सहयोगका लागि खजुराकी मिरा खनाल सापकोटाको अगुवाइमा स्थानीय बासिन्दाले सहयोग रकम संकलन गरिरहेका छन्। उनलाई बचाउन यतिखेर खाँचाे छ त मनकारी मन, स्वंय दिनाकाे आत्मविश्वास र उपचारकाे ।

 

थप समाचार