Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘अहिले भए मेरी आमालाई बचाउन सकिन्थ्यो’ :डा.राजेन्द्रप्रसाद बराल

‘अहिले भए मेरी आमालाई बचाउन सकिन्थ्यो’ :डा.राजेन्द्रप्रसाद बराल

अहिले क्यान्सररोग विशेषज्ञ डा.राजेन्द्रप्रसाद बराललाई भ्याइनभ्याइ छ। बिरामी हेर्ने काम त छँदैछ, सार्क फेडेरसन अफ  अंकोलोजिस्ट नेपालको अध्यक्ष भएपछि झनै उनको काँधमा थप जिम्मेवारी थपिएको छ।

‘सार्क लेभलमा क्यान्सरसँग सम्बन्धित नयाँ खोज, अनुसन्धान, उपचारमा के भइरहेका छन् ती सबैका बारेमा ‘अपडेट’ हुने मात्र होइन, नेपालका क्यान्सर विशेषज्ञलाई समेत ‘अपडेट’ गराउँदै लग्ने अभिभारा छ’, उनी भन्छन्’, ‘त्यसबाहेक देश विदेशबाट ‘गेस्ट लेक्चचर’का रूपमा सहभागी हुन्छु।’

डा.बरालले ‘करिअर’ शुरु गरेको २५ वर्ष भयो। अढाइ दशकमा उनले धेरै क्यान्सर बिरामीको ज्यान बचाएका छन् तर विडम्बना उनकी आमा यही रोगबाट बितिन्।

कुरा २०३४ सालको हो। त्यसबेला बराल भर्खर एसएलसी सकाएर उच्च शिक्षाका लागि भारत गएका थिए। त्यहीवेला आमा बिरामी परेको खबर पाए। घरमा रेखदेख गर्ने कोही थिएनन्। जेठा छोरा उनी। जिम्मेवारी धेरै थियो। खबर पाउनेवित्तिकै उनी तुरुन्त नेपाल फर्किए।

आमालाई रक्त (ब्लड) क्यान्सर भएको थियो। त्यसबेला क्यान्सर भनेको मृत्यु भन्ने बुझिन्थ्यो। ‘त्यसैले पनि हामीले आमालाई क्यान्सर भएको भनेका थिएनौँ, उहाँ आत्तिनुहुन्छ भनेर’, उनले सम्झिए, ‘न त अहिलेजस्तो विशेषज्ञ चिकित्सक थिए, न त अस्पताल नै।’ आमालाई ‘किमो’ दिनुपर्ने भयो जुन यहाँ सम्भवै थिएन। डा. बरालका अनुसार त्यसबेला दिपक बोहरा पर्यटनमन्त्री थिए। ‘हामीले उनलाई भनेर भारतबाट किमो मगायौँ’, उनले भने।

बराललाई अझै राम्रोसँग याद आउँछ त्यो दिन। भोलिपल्ट उनलाई बोलाएर अामाले भनिन्, ‘बाबु म अब बाँच्दिन होला। तिमीले राम्ररी पढ्नु। क्यान्सरको डाक्टर बन्नु र धेरैको ज्यान जोगाउनु।’ सुन्दा कुनै चलचित्रको कहानीजस्तो लाग्ने। ‘मैले हुन्छ भन्न मात्र पाएको थिएँ। उहाँले प्राण त्याग्नुभयो’, उनी भावुक भए।

आमालाई क्यान्सरले भन्दा पनि किमोले झनै गाल्दै लग्यो। ‘म आफैँ पनि क्यान्सरबारे अनभिज्ञ थिएँ’, ४० वर्षअघिका ती दिन सम्झिँदै उनले भने, ‘रोग निको हुनु त परै जाओस् आमा झन् थला पर्नुभयो।’

आमाको रोगको तनाव एकातिर थियो भने अर्कातिर आमाले थाहा पाउलिन् भन्ने पीर। तर एकदिन आमाले उनलाई बोलाएर भनिन्, ‘तिमीहरुले मलाई ढाँटिरहेका छौ। मैले थाहा पाइसकेँ, मलाई क्यान्सर भएको छ।’ यो सुनेर बराल अलमल्ल परे। होइन भनेर लुकाउन खोजे तर आमा मान्न तयार भइनन्।

‘घरमा धेरैको आउजाउ हुन्थ्यो। सायद कसैले सुनाइदियो होला’, उनले भने। बराललाई अझै राम्रोसँग याद आउँछ त्यो दिन। भोलिपल्ट उनलाई बोलाएर अामाले भनिन्, ‘बाबु म अब बाँच्दिन होला। तिमीले राम्ररी पढ्नु। क्यान्सरको डाक्टर बन्नु र धेरैको ज्यान जोगाउनु।’ सुन्दा कुनै चलचित्रको कहानीजस्तो लाग्ने। ‘मैले हुन्छ भन्न मात्र पाएको थिएँ। उहाँले प्राण त्याग्नुभयो’, उनी भावुक भए।

त्यसपछि शुरु भयो क्यान्सरविरुद्ध उनको यात्रा। ‘आमाकै रोगका कारण मेरो पढाइ पनि ‘डिस्टर्ब’ भएको थियो’, उनले भने, ‘मैले आमाको सपना पूरा गर्नु थियो।’ त्यसैले पढाइ पाँच वर्ष ‘ग्याप’ भए पनि साइन्स पढ्न अस्कलमा भर्ना भए । त्यसलगत्तै इण्डियन एम्बेसीको स्कलरसिपमा एमबीबीएस पढ्न भारत गए।

एमबीबीएस सकेर नेपाल आए। त्यतिवेला डा.अन्जनीकुमार शर्माले अन्नपूर्ण नर्सिङ होम खोलेका थिए। ‘मलाई उहाँको पछि लागेँ भने क्यान्सर विशेषज्ञ भइन्छ जस्तो लाग्थ्यो’, उनले ती दिन सम्झिए, ‘त्यसैले उहाँको नर्सिङ होममा गइरहन्थेँ। पछि काम पनि गर्न थालेँ।’

त्यहाँ केही वर्ष काम गरेपछि उनले भारतको मुम्बइस्थित टाटा मेमोरियल अस्पतालमा पढ्ने मौका पाए। ‘त्यो दिन म आमालाई सम्झेर खुब रोएँ’, उनी भावुक भए।

क्यान्सररोग विशेषज्ञ भएर घर फर्केपछि शुरुमा उनले आमाको मृत्यु किन भयो भनेर सोधीखोजी गरे। ‘त्यसबेला पत्ता लाग्यो, मेरी आमाको मृत्यु किमोको ‘हाइडोज’को कारणले मृत्यु भएको रहेछ’, उनले भने, ‘त्यसपछि मैले बुझेँ, ‘अहिलेको जस्तो प्रविधि, उपचार र जनशक्ति भएको भए उहाँ बाँच्नु हुनेरहेछ।’

उनकी आमालाई दैनिक ९०० एमएलको दरले नौ दिनसम्म किमो दिइएको रहेछ, जुन ह्वेल माछालाई दिइयो भने पनि ‘हाइडोज’ भएर मर्ने रहेछ।

‘विडम्बना मैले आमा गुमाएँ। बुवालाई २२ वर्षअघि छालाको क्यान्सर भयो’, उनी भन्छन्, ‘उहाँको उपचार नेपालमै भएको हो। अहिले उहाँ ठिक हुनुहुन्छ।’ संयोग भनौँ कि दुर्भाग्य, डा.बरालको परिवार, नातागोताभित्र अहिलेसम्म ६९ जनालाई क्यान्सर भइसकेको छ। ‘मेरी आमाबाट शुरु भएको क्यान्सर बढ्ने क्रम अझै रोकिएको छैन’, उनले भने।

डा.बराल बिरामी मात्र हेर्ने होइन क्यान्सरको जनचेताको लागि विभिन्न कार्यक्रममा पुग्ने गरेका छन्। ‘पहिलाजस्तो होइन। अहिले त सबै उपचार नेपालमै सम्भव छ। सबै खालका प्रविधि भित्रिएको छ’, उनी उत्साहित छन्। सबै भएर पनि खाँचो एउटै देखेका छन्, उनले। त्यो हो, जनचेतना। ‘यसमा अझै लाग्नुछ। निरन्तर लागिरहनेछु’, उनी भन्छन्।

कतिपय क्यान्सररोगमा बिरामी मर्छन् भन्ने हुँदैन। प्रारम्भिक चरणमै उपचार गरे पूर्ण रूपमा निको हुन्छ। त्यस्तो ‘केस’मा पनि बिरामीले ज्यान गुमाएको देख्दा उनलाई नरमाइलो लाग्छ रे! ‘यसमा अझै धेरै गर्न बाँकी रहेछ भन्ने सम्झिन्छु’, उनले भने।

थप समाचार